कीर्तिपुर- रातो मत्स्येन्द्रनाथ (करुणामय)की प्रेमिका मानिने लक्ष्मीकुमारी महर्जन (याकः मिसा) ७३ वर्ष पुगेकी छन्। विगत ६३ वर्षयता रातो मत्स्येन्द्रनाथले याक: मिसालाई हरवर्ष प्रेमप्रस्ताव पठाइरहेका छन्।
पानेजु (पुजारी)ले सोमबार पनि खाली खुट्टै कीर्तिपुरसम्म पैदल यात्रा गरी रातो मत्येन्द्रनाथका तर्फबाट पठाइएको फूलप्रसाद चढाएर याकः मिसालाई प्रेमप्रस्तावको सन्देश पठाएका थिए।
याकमिसा हालसम्म पनि अविवाहित छिन्। उनलाई रातो मत्स्येन्द्रनाथले प्रेम प्रस्ताव पठाउन थालेको ६३ वर्ष पुगेको छ। रातो मत्स्येन्द्रनाथले पहिलो पटक याक: मिसालाई प्रेम प्रस्ताव पठाउँदा उनको उमेर १० वर्ष मात्र थियो। याकः मिसा एवं कन्याकुमारी मानेर उक्त प्रसाद चढाइएको हो।
सांस्कृतिक अभियन्ता नारायण महर्जनका अनुसार अबको चार दिनपछि तानिने मत्स्येन्द्रनाथको जात्रामा सहभागी हुन कीर्तिपुरवासीलाई निमन्त्रणा गरिएको अर्थमा यो प्रसाद चढाउने गरिन्छ।
रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेरै प्यंगथाँ पुगी याकः मिसालाई फूल चढाउने गरिन्छ।
याकः मिसाले फूलप्रसाद लिइसकेपछि उनकै खलकका अन्य कुमारीले फूलप्रसाद लिने चलन छ। त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित कन्या यो विधिमा सरिक हुन पाउँछन्।
प्यंगथाँकी कुमारी कन्यालाई मत्स्येन्द्रनाथकी प्रेमिका मान्ने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। यो जात्रा कम्तीमा चौध सय वर्ष पुरानो हो भन्ने मान्यता छ।
याक: मिसा ६३ वर्षदेखि निरन्तर मत्स्येन्द्रनाथकी ‘प्रेमिका’ का रूपमा समर्पित छिन्। उनी अविवाहित भएकाले अरू कसैले रातो मत्स्येन्द्रनाथको प्रेमिका बन्ने ठाउँ लिन सकेका छैनन् ।
वैशाख २७ गते रथारोहण गराएको रातो मत्स्येन्द्रनाथलाई २९ गते शनिबार रथयात्रा गराइएको थियो। यही साउन १७ गने रथ तानेर जावलाखेलमा पुर्याइने छ। अर्को साइत हेरेर राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा जात्रा समापन हुने गर्छ।
गुठी संस्थानले याकः मिसाका लागि वार्षिक ५ हजार ५५५ को दक्षिणा दिने व्यवस्था गरेको छ।


