टक्सार (भोजपुर)- बाढीले बगाएर बेपत्ता भएका दुई जनामध्ये एक मजदुरको शव फेला परेको छ ।
भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत बर्दियाको बारबर्दिया नगरपालिका–३ का ३० वर्षीय रमेश थारुको शव भेटिएको हो।
अरुण नदीको सतीघाटमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाका अनुसार रमेशसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन्।
बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए।
बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ।
प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ।


