काठमाडौँ रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीले सहज रुपमा रेमिटेन्स पठाउन सक्ने भएका छन्। यस सम्बन्धमा ग्लोबल आइएमई बैंक र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच सम्झौता भएको छ।
सम्झौताअनुसार नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहजरुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन्।
ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालय तथा नेपालभर रहेका आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिने बैंकले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
कतारमा रहेका नेपालीले आफ्नो वा परिवारका सदस्यको नाममा ग्लोबल आइएमई वा अन्य बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रेमिटेन्स पठाउन सक्नेछन्।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो। बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।


