काठमाडौँ- कैलालीमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।
‘झोलामा भेटिएको पासपोर्ट साइजको फोटोमा फोटो स्टुडियोको छाप रहेको र त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार माइती जान हिँडेकी उनी अटो चालकले गेटाबाट भित्री बाटोमा लैजान खोज्दा आत्तिएर हाम फालेकी थिइन्।
उनको कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा शव फेला परेको थियो।
बुधबार मोहना पुल–अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ।
ती महिला धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन्। मापसे गरेका रिक्सा चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए।
सोही क्रममा आत्तिएर चौधरीले हाम फालेकी थिइन्। उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पु¥याएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए।
प्रहरीले अनुसन्धानको क्रममा अटो चालक र अटोमा सवार उनका साला २३ वर्षीय कालु दमाईलाई पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ती महिलाले अटोबाट हाम फालेपछि फसिने डरले भागेको बयान उनीहरूले दिएको प्रहरीले जनाएको छ।


