काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्षसमेत रहेका निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लब इन्टरनेसनलद्वारा सम्मानित भएका छन्।
ललितपुरमा आयोजित एक कार्यक्रममा क्लबले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो।
व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरूप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेसनले जनाएको छ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई सम्मान गरे। अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन्।
‘जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको छ। लायन्स जस्ता संस्थाको संगठन बृहत् छ, यसलाई जलवायु परिवर्तन विरुद्धको गतिविधिमा संलग्न गराउन आवश्यक छ,’ सम्मानित मल्लले भने।
लायन्सले मल्लसहित कला र खेलकुद एवं शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेलाई सम्मान गरेको थियो।


