काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ।
आज बिहान ७ः३० बजे सुर्खेतका लागि उडान भर्न तयार भएर धावनमार्गमा पुगेर फर्किएको जहाज फर्काइएको हो। जहाजलाई धावनमार्गबाट फर्काएर पार्किङमा ल्याइएको थियो।
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काइएको जानकारी दिए।
‘प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्’, उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।’
श्री एयरलाइन्सले झगडा गर्ने यात्रीको विवरण भने खुलाएको छैन।
अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए।
सुर्खेत जान विमान चढेकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायत एक्कासी विमान फर्काइएको बताइन्।
‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, उनले भनिन्।
सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काइनु एयरलाइन्सको लापरवाही भएको आरोपसमेत लगाइन्।


