काठमाडौँ– फिल्म ‘कार्साङ’को छायाँकन सकिएको छ। यम शेर्पा निर्देशित उक्त फिल्मको छायाँकन २२ दिन लगाएर पूरा गरिएको हो।
फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ।
‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायाँकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो।
फिल्ममा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङ्लेखु मुख्य अभिनयमा छन्। केही म्युजिक भिडियोमा काम गरेकी सिर्जनाको यो डेब्यु फिल्म हो।
सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ। यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो।
यस फिल्ममा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दैछन्।
फिल्मको निर्माता पुरूषोत्तम प्रधान हुन्। फिल्ममा उनकै डिओपी रहेको छ। फिल्मका प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन्। ‘कार्साङ’को प्रदर्शन मिति भने तय गरिएको छैन।


