काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा गरेको रोयल्टी वितरणमा उनले ४ लाख रुपैयाँ प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्।
समाजले यसपटक ६०० भन्दा बढी गीतकार, संगीतकार तथा गायकलाई रोयल्टी उपलब्ध गराएको छ। सर्वाधिक रोयल्टी पाउने स्रष्टाको वरीयतामा गायक तथा संगीतकार राजनराज शिवाकोटी दोस्रो र गायक दुर्गेश थापा तेस्रो स्थानमा रहेका छन्।
समाजका अनुसार यस वर्ष स्रष्टाहरूले प्राप्त गरेको रोयल्टीमा डिजिटल माध्यमको योगदान उल्लेख्य छ। विशेषगरी टिकटक र मोबाइलको रिङब्याक टोन (पीआरबीटी) रोयल्टी आम्दानीका मुख्य आधार बनेका छन्। नेपाली गीतसंगीतको प्रयोग सामाजिक सञ्जाल तथा मोबाइल सेवामा विस्तार हुँदै जाँदा त्यसबाट स्रष्टाले पाउने आर्थिक प्रतिफल पनि बढ्न थालेको समाजको भनाइ छ।
यसपटक टिकटकबाट संकलित रोयल्टीमा सन् २०२६ को जुन महिनासम्मको कारोबार समेटिएको छ। त्यसैगरी एनसेलको पीआरबीटी सेवाबाट प्राप्त रोयल्टीमा सन् २०२५ नोभेम्बरसम्मको विवरण समावेश छ।
राजधानीमा आयोजित रोयल्टी वितरण कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भूपेन्द्र रायमाझी, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयकी रजिस्ट्रार सुशीला कार्की, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा र प्रतिष्ठानका पूर्वउपकुलपति शम्भु राईलगायतले स्रष्टाहरूलाई रोयल्टी रकम हस्तान्तरण गरेका थिए।


