कैलाली- कैलालीको भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ। आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।
बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो। पूर्ण रूपमा डुबानमा परेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन्।
भजनीमा ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए।
भजनी–५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ।
भजनी–५, लालभोझी क्षेत्रमा पनि बाढीबाट सयौँ परिवार विस्थापित भएका दिपेश बुढाले जानकारी दिए।
जोशीपुरमा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ।
भजनी नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगर प्रमुख केवल चौधरीले बताए।


