काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सुरक्षा निकायका प्रमुख हुतराज थापालाई बोलाएर गुप्तचर विभागको भूमिकामाथि प्रश्न खडा गरेका हुन्।
विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन भित्रिँदासमेत गुप्तचरीको महत्त्वपूर्ण दायित्व पाएको निकायले पत्तै नपाउने अवस्था बनेको भन्दै ओलीले प्रश्न गरेका हुन्। ओलीले थापाप्रति असन्तुष्टि व्यक्त गर्दा प्रधानमन्त्री कार्यालयको टिम पनि उपस्थित थियो।
‘राष्ट्रिय अनुसन्धान विभाग भनेको के हो? यो विभागले ठोस काम के गर्यो? इन्टेलिजेन्स (गुप्तचरी), काउन्टर इन्टेलिजेन्स (प्रतिगुप्तचरी), के काम गर्यो? कुन अपराध हुनुभन्दा पहिले थाहा पायो?,’ प्रधानमन्त्री ओलीका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
प्रधानमन्त्रीले अपराध भइसकेपछि पनि राष्ट्रिय अनुसन्धान विभागको भूमिका हुने बताएका थिए।
‘अपराध हुनुभन्दा पहिले थाहा पाउनुपर्यो नि! ३२ क्विन्टल पहिले आइसक्यो..,’ प्रधानमन्त्रीले भनेका थिए, ‘तपाईंहरूको मानिस छ त त्यहाँ, विमानस्थलमा छ, भन्सारमा छैन? अनि किन बस्या त?’
जवाफमा विभागका अधिकारीले अध्यागमनबाट आवतजावत गर्ने मानिसलाई मात्र हेर्ने भनेका थिए।
२०८० साउन ३ गते ६० किलो सुन बरामद भएको थियो। त्यस्तै भदौ २६ गते पनि एक किलो अवैध सुन बरामद भएको थियो।


