काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि बहिरंग (ओपीडी) सेवा संचालन गर्न निर्देशन दिएको छ। भदौ १६ गते स्वास्थ्य मन्त्रालयले निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो।
यसअघि भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।
यसअघी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गर्न निर्देशन दिएको थियो।
कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका थिए।
गृह मन्त्रालयले जारी गरेको सूचना-१ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरेका हुन्।
सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ।
अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ।
मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ।
विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवालगायत सेवा सार्वजनिक दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।


