काठमाडौं- स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंक बिच एससीटी-यूपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता भएको छ। सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे।
बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।
हाल ५ बाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीहरूले एससीटी-यूपीआई डेबिट कार्ड ग्राहकहरुलाई प्रदान गरिरहेका छन्। यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एससीटी-यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन्। साथै युनियन पे इन्टरनेश्नलको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा समेत सेवा लिन सक्नेछन्।


