काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडीले पदभार ग्रहण गरेकी छन्।
मन्त्रिपरिषद्को मिति २०८१ भदौ २० को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको नियुक्तिको पत्र बुझ्दै उनले पदभार ग्रहण गरेकी हुन्। पहाडीलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।
यसअघि २०८० असोज १७ गते उनी कम्पनीको निमित्त प्रबन्ध निर्देशक बनेकी थिइन्। उनै पहाडीलाई नै सरकारले प्रबन्धन निर्देशक बनाएको हो।
नवनियुक्त प्रबन्ध निर्देशक पहाडी (अर्याल)ले भारतको इलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्।
२०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी संगीता २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी बनेकी थिइन्। २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन्।
पदभार ग्रहण गर्दै पहाडीले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन्। आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान उनको प्रतिबद्धता छ।


