काठमाडौँ- कक्षा १२ को ११८ जनाको सबै विषयको परीक्षा रद्द गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयविरुद्ध अभिभावकले शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डमा उजुरी गरेका छन्। अभिभावकहरुका तर्फबाट गुणराज उप्रेतीले राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयमा उजुरी दर्ता गराएका हुन्।
१२ कक्षाको परीक्षा दिने विद्यार्थी सामान्यतया १६ वर्ष आसपासको हुने भएकाले बालक उमेरकै विद्यार्थीले एउटा विषयको परीक्षामा त्रुटि गर्दैमा सबै विषयमा रद्द गर्नु कठोर हुने अभिभावकको गुनासो छ।
गत वैशाखमा सञ्चालन भएको १२ कक्षाको नियमित र ग्रेडवृद्धि परीक्षाको साउन १८ गते प्रकाशित भएको थियो। उक्त परीक्षाफलमा ११८ जना विद्यार्थीको सबै विषयको परीक्षा रद्द गरिएको थियो।
सबै विषयको परीक्षा रद्द गर्दा एक वर्ष समय व्यर्थ गुमाउन बाध्य बनाउने परीक्षा बोर्डको नीतिमाथि प्रश्न उठाउँदै शिक्षा मन्त्रालयमा पनि उजुरी दिइएको हो।
‘बालबालिकालाई नैतिकवान् तुल्याउनु, मर्यादित परीक्षाको वातावरण तयार गर्नुसमेत बोर्डको जिम्मेवारी हो,’ शिक्षा मन्त्रालयका दिएको उजुरीमा बालबालिका सम्बन्धी ऐन २०७५ ले बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै भनिएको छ, ‘यसरी आफ्नो जिम्मेवारीबाट पन्छिएर संविधान र कानुन विपरित बोर्डले बालबालिकाको परीक्षा रद्द गरी निजहरूलाई मानसिक आघातसमेत पुग्नेगरि अपमानित गरी शिक्षाको अवसरबाट समेत वञ्चित गर्दै संविधान उल्लंघनका साथै बालमैत्री विपरित कार्य गरेकोले सो निर्णय बदर गर्न आवश्यक निर्देशन जारी गरी पाऔँ।’
उजुरी दिने अभिभावक सर्लाही हरिवनका गुणराज उप्रेतीले बालबालिकाको भविष्य बनाउनुपर्ने शैक्षिक संस्थाले उल्टै भविष्य बिगार्ने निर्णय गर्नु गलत भएको बताउँछन्। ‘एउटा गलत निर्णयले बालबालिकाको एक वर्ष खेर जाने अवस्था बन्छ,’ उनले भने, ‘यसमा पुनर्विचार हुनुपर्छ भनेर मैले बोर्ड र शिक्षा मन्त्रालयमा निवेदन दिएको हो।’
उप्रेतीले किन यस्तो कठोर निर्णय भयो? कुन अपराध गरेका कारण बालबालिकाको सबै विषय रद्द गरियो? भन्ने जानकारी अभिभावकलाई नदिइएको पनि बताए। एउटा परीक्षाको दिन गोजीमा मोबाइल भेटिएका कारण पनि सबै परीक्षा रद्द गर्ने काम भएको उनको दावी छ।
परीक्षा केन्द्रका केन्द्राध्यक्ष वा निरीक्षकले सानो गल्तीमा पनि पूर्व रिसइवीका कारण सबै परीक्षा रद्दका लागि सिफारिस गरेको हुनसक्ने उनी बताउँछन्।
‘सबै परीक्षा रद्द हुँदा कम्तिमा अभिभावकलाई कारण थाहा दिने चलन हुनुपर्छ,’ उनले भने, ‘एक दिन परीक्षा दिँदा मोबाइल भेटेर उत्तर पुस्तिका खोसेकोमा पनि सबै विषय रद्द गरिएको छ। यो त बालबालिकामाथि अन्याय नै हो।’
उप्रेतीले यस्तो कठोर निर्णय गर्नु बालबालिकामाथि अन्याय हुने भएकाले सच्याउनु जरुरी रहेकाले त्यो अभियानमा जुटेको बताए।


