महोत्तरी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन्। यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो। घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन्।
यादवको हत्या भएकाले अनुसन्धान गर्नुपर्ने स्थानीय माओवादीको माग छ। जिल्लास्थित राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म पुगेका थिए। घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने भन्दै उनीहरुले सरकारले अनुन्धानमा चासो नदेखाएको गुनासो गर्दै आएका छन्।
‘यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिसकेको छु। फेरि पनि यसका लागि आग्रह गर्छु। यसमा लापरबाही गरियो भने परिणाम भयानक हुनेछ,’ श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रचण्डले चेतावनी दिए। यसका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने स्थिति पनि आउन सक्ने उनको भनाइ थियो।
माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडा अध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेशको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा फाउन्डेसन बनाउन र उनका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिए। उनले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताइन्।


