झापा- झापाको शिवसताक्षीमा भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन्।
शिवसताक्षी–८ शितलचौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ परेका हुन्।
घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णक्मार चन्दले जानकारी दिए।
गएराति ९ बजेतिर घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो।
उनको टाउकोमा चोट देखिएको छ। दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ। घटनास्थल वरपर दाउरा छरिएको र रगत लतपतिएको थियो। उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुन सक्ने प्रहरीको अनुमान छ।
दुवै दाजुभाइले मादक पदार्थ सेवनगरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुन सक्ने आशंका छ। तीन जना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन्।


