काठमाडौं- काठमाडौंको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्री प्रिमियर सञ्चालनमा आएको छ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गरेका हुन्।
यो होटल बनाउन अढाई अर्बको खर्च भएको र ५ वर्षमा निर्माण कार्य गरिएको होटल व्यवस्थापकले बताएको छ। होटलमा एक सय दुई शय्या छन्।
बुढानीलकण्ठ मन्दिरबाट करिब ५०० मिटरको दुरीमा पर्ने यो पाँचतारे होटल करिब १२ रोपनीमा फैलिएको छ।
ध्यान केन्द्र, स्वीमिड पुल र हेल्थ क्लबको सुविधासहित संचालन भएको यो होटलमा प्रेसिडेन्सियल, इक्जेक्युटिभ र डिलक्स क्याटेगोरीका कोठा छन्।
कोठाको मूल्य ९ हजार ९९९ रुपैयाँदेखि सुरु हुन्छ।
होटलमा वर्किङ डेस्कसहितको फराकिलो कोठाहरु र प्रत्येक कोठाको आफ्नै बाल्कोनी छ।
सिट्रस क्याफे, बार, ब्यांकेट हल र बिजनेसका लागि मिटिङ रुमहरु पनि यहाँ छुट्याइएका छन्।
होटलको व्यवस्थापन भारतीय होटल ब्रान्ड लेमन ट्रीले लिएको छ।
कोठा संचालनका हिसाबले लेमन ट्री भारतकै सबैभन्दा ठूलो चेन होटल हो।
होटल उद्घाटनमा पुगेका प्रधानमन्त्री ओलीले राज्यका सेवाहरु छिटोछरितो रूपमा दिइने बताए।
‘व्यवसायीहरुले निर्वाध रुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ। काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन। सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन,’ उनले भने, ‘कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङका लागि प्रविधि बनाइसकेका छौँ। तपाईंहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस्। सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुने छैन।’


