काठमाडौँ- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधामा सम्मानित भएको छ।
अवार्डअन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल बाट बैंक सम्मानित भएको हो।
सिंगापुरमा आयोजित समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।
सन् १९९२ मा युरोमनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो।
ग्लोबल आइएमई बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको युरोमनीले बताएको छ।
युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ। युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति छन्।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो। यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२–बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो।


