काठमाडौ- नेपालमा निजी क्षेत्रको पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक एनसेलले १९ वर्ष पूरा गरेको छ। उसले १९ औं वार्षिकोत्सवको अवसर पारेर एनसेल फाउन्डसन सार्वजनिक गरेको छ।
अबदेखि एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गतका (सीएसआर) का सबै कामहरु यही फाउन्डेसनबाट गर्नेछ। एसनसेलको सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विगत १९ वर्षमा एनसेलले सिएसआर अन्तर्गत रहेर जति काम गरेको छ त्यति काम नेपालका निजी क्षेत्रका कम्पनीले नगरेको दाबी गरिन्।
एनसेलले सामाजिक उत्तरदायित्वको काममा हालसम्म २ अर्ब रुपैयाँ खर्च गरिसकेको खड्काले बताइन्। एनसेलको सेवाबाट १ करोड ५० लाख नेपाली प्रत्यक्ष रुपमा लाभवान्वित भएको एनसेलले जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले नेपालमा नाफाको मात्र व्यापार नगरी सेवाभावले समेत काम गरेको बताए।
उनले भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा सबैभन्दा बढी रकम जम्मा गरेको स्मरण गर्दै भने, ‘एनसेलले नाफा अर्थात पैसाको व्यापार मात्र गर्दैन। एनसेल समाज रुपान्तरण र समाजको विकासमा समेत उत्तिकै योगदान गरेको छ।’
स्वास्थ्य सेवामा १५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको एनसेलले ७५ हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी शिक्षा क्षेत्रमा खर्च गरेको जनाएको छ।
एनसेलले वार्षिकउत्सव कै अवसरमा विभिन्न प्याकेजहरु पनि सार्वजनिक गरेको छ। फरक क्षमता भएकाहरुका लागि ५० प्रतिशत छुटमा सधै अन प्याक ल्याएको छ। यो प्याकमा आजिवन छुट हुने कम्पनीले जनाएको छ। यस्तै एनसेल एपबाट सधै अन प्याक किन्दा १९ प्रतिशतसम्म छुट हुने योजना सार्वजनिक गरेको छ।
एनसेल २००४ मा स्थापना भएर २००५ देखि काम गर्न थालेको हो। एनसेल बजारमा प्रवेश गर्दा मोबाइल प्रयोकर्ता जम्मा ६ प्रतिशत मात्रै थिए। प्रारम्भिक चरणमा २००४ मा एनसेल मेरो मोबाइलको नामबाट परिचित थियो। त्यसको चार वर्षपछि यसलाई टेलिया कम्पनीले खरिद गरेर एनसेलको नामबाट ब्रान्ड बनायो।
टेलिया कम्पनी पहिले स्विडेनको टेलिया सोनेरा थियो। २०१० देखि भने एनसेलको नामबाट यसको ब्रान्ड बन्यो। २०१६ को अप्रिल १२ मा यो एक्जियाटा ग्रुपको एक भाग बन्यो। २०२० को अगस्ट ३ मा यो पब्लिक लिमिटेड कम्पनी बन्यो र एनसेल एक्जियाटा लिमिटेड बन्यो।
आर्थिक वर्ष सन् २०२३÷२४ सम्ममा एनसेलले नेपाल सरकारलाई ३२ अर्ब रुपैयाँ कर तिरिसकेको छ। एनसेलले २०१६ मा पुँजीगत लाभकरको रुपमा ४७ अर्ब रुपैयाँ तिरेको थियो। एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा देशभर २५ हजारभन्दा धेरैलाई रोजगारी दिएको छ।


