काठमाडौँ– महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्न सक्ने बताएका छन्।
शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवम गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाहरुले स्वविवेकले छनोट गर्न सुझाए।
उनले नेपाली युवाहरुका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तब्य रहेपनि वैदेशिक शिक्षा रोज्नेहरुका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए। उनले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताए।
‘विद्यार्थीहरुलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ। आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन्। आफूमा भएको उर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन। यद्यपी, पछिल्लो समय क्यानाडा धेरै नेपालीहरुको उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको दुइमत छैन,’ उनले भने।
कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रवन्ध निर्देशक धिरज कंडेलले क्यानाडा अध्ययनका लागि धेरै नेपाली युवाहरुको रोजाइमा रहेको बताए।
उनले क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देश वाहिर आएपनि सार्वजनिक भएजस्तो समस्या नभएको उनले बताए।
कार्यक्रममा २५ बढी लोकप्रिय कलेज र विश्वविद्यालयहरुले परामर्श सेवा उपलब्ध गराएका थिए। उक्त अवसरमा कलेज वा विश्वविद्यालयका प्रतिनिधिहरुले सयौं विद्यार्थीहरुलाई परामर्श दिएका थिए।


