पोखरा- जिल्ला प्राशसन कार्यालयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितले प्रदर्शन गरेका छन्।
सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताले लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। त्यसकै ठिक अघिल्तिर लामिछानेका समर्थकले पनि प्रदर्शन गरिरहेका छन्।
सहकारीको पैसा गोर्खा मिडियामार्फत ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र नजिकै सहिद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।
पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन्।
गोरखा मिडिया प्रालिमा रविका साझेदार पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ परेर आइतबार पोखरा ल्याइएको छ। जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए।


