काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन्।
सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसुचित गर्ने पेशाले नै आफ्नाबारे सुसुचित गर्न नसकेको बताएका हुन्।
‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको जिन्दगी एकदमै भयावह अवस्थामा छ। प्राइभेट स्कुलका शिक्षकहरुले स्कुल बन्द भएको ११ महिना भयो, पैसा छैन भनिरहेका छन्,’ उनले भने, ‘पत्रकारिता क्षेत्र पनि सबैभन्दा बढी जोखिममा छ। आफ्नो अनि परिवारको केही प्रवर्द्धन छैन। दुनियाँलाई सुसूचित गर्ने पत्रकारहरुले आफ्नो लागि सुसूचित गर्न सकेका छैनन्।’
जोखिममा भएको पत्रकारिता क्षेत्रले मानवतालाई जोगाइ राखेकोसमेत उनले बताए। उनले पत्रकारितालाई अगाडि बढाउन मन्त्रालयसँगै सिंगो राष्ट्र लाग्नुपर्ने धारण राखे।


