काठमाडौँ- एएफसी यु–२० एसियन कप छनोटका लागि भएको खेलमा नेपालले जित निकालेको छ।
समित तामाङको ह्याट्रिकमा नेपालले जित निकालेको हो। प्रतियोगिताका लागि नेपालले खेलेको यो दोस्रो खेल हो।
न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित हासिल गरेको हो।
नेपाललाई जित दिलाउन तीनै गोल समीर तामाङले गरे।
जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ।
दुवै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहीन छ।
खेलको ३२औं मिनेटमा समीरको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो।
त्यसको तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा याङ चाओजिङ गोल गर्दै ताइपेइलाई खेलमा फर्काउने प्रयास गरेका थिए।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा समिरले ह्याट्रिक पूरा गर्दै नेपाललाई सहज जित दिलाए।
यसअघिको खेलमा नेपाल कम्बोडियासँग ४–१ ले पराजित भएको थियो।


