पर्वतः आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू थातथलो फर्किएमा महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च दिने भएको छ।
गाउँलेहरू बसाइँ सर्ने क्रम बढेकाले पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको हो।
गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले सुनाए। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ। चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने भुसालले बताए।
-रासस


