काठमाडौँ- काठमाडौंको नागढुंगामुनि झ्याप्लेखोला भन्ने स्थानमा पहिरोमा परी दुई वटा बस पुरिएका छन्।
पुरिएका दुवै बसबाट १४ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ।
शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबस पुरिएका थिए।
लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो।
पहिरोले पुरिएको अर्को बसको नम्बर खुलेको छैन। उक्त बसबाट ९ जनाकव शव निकालिएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार शनिबार साँझ एक्साभेटरको सहायताले ती बसबाट शव निकालिएको हो।
पहिरोमा अरु बस पनि पुरिएको हुन सक्ने आशंका प्रहरीको छ।
यो घटनासँगै तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ।
यो घटनाको विवरण प्राप्त नहुँदै साँझमा गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर ६६ जनाको मृत्यु भएको जानकारी दिएको थियो। मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीका अनुसार साँझसम्ममा बेपत्ता हुनेको संख्या ७९ जना थियो।
उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु छ। काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो।
पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।
ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना बेपत्ता छन्।
सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार ३ हजारभन्दा बढीको उद्धार भएको छ।
कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन्। ८ जना अझसम्म पनि बेपत्ता छन्।
मधेशमा एक जनाको मृत्यु भएको छ। ४ जना घाइते र २ जना बेपत्ता छन्।
उपत्यकाबाहेकको बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते छन्। ३९ जना बेपत्ता छन्।
सबै घाइतेको निशुल्क उपचार सरकारले गर्ने भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
उद्धारका लागि काठमाडौँ, काभ्रे, सिन्धुली र मकवानपुरमा हेलिकोप्टर परिचालन गरिएको थियो।
खोज तथा उद्धार कार्य जारी रहेको सुरक्षा निकायले जानकारी दिएका छन्।


