काठमाडौँ- नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) वर्षका अवसरमा शनिवार कोरिया राजदूतावासले कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कोरियाली सरकारले नेपाललाई गरेको सहयोगको प्रशंसा गरेका थिए। शिक्षा र रोजगारका क्षेत्रमा कोरिया सरकारले पुर्याएको योगदान प्रशंसनीय भएको उनको भनाइ छ।
‘कोरिया र सरकारबीच सम्बन्ध निकै राम्रो छ। आगामी दिनमा अझै प्रगाढ बनाउने छौँ। नेपालको विकासका निम्ति,शिक्षा,जलस्रोत कृषिका क्षेत्रमा पुर्याएको योगदानप्रति कृतज्ञ छौँ,’ मन्त्री पाण्डेले भने।
कोरियाले ५० हजार नेपालीलाई रोजगारी दिएकोमा पनि उनले धन्यवाद ज्ञापन गरेका थिए। प्रत्येक वर्ष दुई करोडभन्दा बढी कोरियाली पर्यटकहरू विश्वमा घुम्ने गरेको बताउँदै उनले नेपालमा आउने पर्यटकको संख्याका आधारमा कोरियाली पर्यटक शीर्ष १० भित्र पर्ने उल्लेख गरेका थिए। यसले दुई देशबीच सरकार-सरकारको मात्र नभएर नागरिक स्तरमा पनि सम्बन्ध विस्तार भइरहेको उनको भनाइ थियो।
मन्त्री पाण्डेले कोरियाली सरकारका माध्यमबाट नेपाल आएर, अध्ययन, अनुसन्धान, भ्रमण गर्नका थप सहज वातावरण सिर्जना गर्न पर्यटन मन्त्रालयले सहजीकरण गर्ने उल्लेख गरेका थिए।
आगामी दिनमा सांस्कृतिक आदानप्रदान गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास मन्त्री पाण्डेको छ। नेपाली-कोरिया मैत्री सम्बन्धको अवसरमा कोरियाली दूतावासले कला परिषद कोरियाको कलासंस्कृतिसम्बन्धी डिजिटल प्रदर्शनीसमेत गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको उल्लेख गरे।
‘हाल कोरियामा करिब ५० हजार हाराहारी नेपाली कामदार कार्यरत छन्। कोरिया र नेपालबिचका समानताको विषय पनि थुप्रै छन्,’ उनले भने, ‘दुई देशबीचको सम्बन्ध थप विस्तार गर्न हामी प्रयासरत छौँ।’
कला र संस्कृतिका माध्यमबाट दुई देशका जनतालाई अझ नजिक बनाउन सकिने उनको भनाइ थियो।
नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध विस्तार भएको थियो।


