सुनसरी– सप्तकोसी नदीमाथि बनेको पुलमा आवतजावत खुला गरिएको छ।
पानीको बहाव उच्च भएपछि बन्द गरिएको आवतजावत पानीको बहाव घटेसँगै खुला गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको हो।
अहिले नदीमा पानीको सतह ३ लाख ५० जहार क्युसेक पुगेको छ। आइतबार बिहान नदीमा पानीको बहाव ६ लाख ६१ हजार क्युसेक पुगेको थियो।
बिहान ब्यारेजको पुलमाथि नै आएको पानी अहिले घट्दो क्रममा छ। कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
नदीमा पानीको बहाव १ लाख ७५ हजार क्युसेकभन्दा बढी भए खतराको संकेत गरिन्छ।
सन् १९६८ मा नदीमा हालसम्मकै उच्च ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको थियो।
सन् १९८८ मा ५ लाख २३ हजार ७७१ क्युसेक पानी बहेको रेकर्ड गरिएको छ। उक्त रेकर्डलाई आइतबार बिहानको बहावले तोडेको छ। आज ५ लाख ६० हजार क्युसेक पानीको बहाव छ।
ब्यारेज बनाउँदा ९ लाख क्युसेक पानीको बहाव धान्न सक्ने गरी निर्माण गरिएको बताइएको थियो।
पछिल्लो समय नदीको माथिल्लो भागमा बालुवा थुप्रिएका कारण पानीको बहाब कम भए पनि जोखिम भने बढी हुने गरेको छ।
२०६३ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी पुग्दा नै पूर्वी तट भत्किएर ७ हजार ५३६ परिवार विस्थापित भएका थिए।
५० वर्षभन्दा पुरानो कोसी ब्यारेजमा पानीको बहाब बढेसँगै नेपाल र भारत विहारका नागरिकलाई जोखिम बढ्ने गरेको छ।
एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोसी ब्यारेज भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले निर्माण गरेको हो। ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आएको थियो ।
कोसी ब्यारेजमा सुनसरीतर्फ २८ र सप्तरी तर्फ २८ गरी कुल ५६ वटा ढोका रहेका छन्। ब्यारेजको लम्बाई एक हजार १ सय ४९ मिटर रहेको छ।


