काठमाडौँ- बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन्। घाइते एक सय एक जनाको विभिन्न अस्पतालमा उपचार भएको छ।
बाढीपहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर ७, सिन्धुपाल्चोक ६, सोलुखुम्बु, पाँचथर र भक्तपुरमा ५-५ जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
उनका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुर्ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएको थियो।
तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ।
यसैगरी बाढीपहिराले ३२२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ।


