काठमाडौँ- नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेसनल एक्सपो आयोजना हुने भएको छ। घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका सामग्री समावेश हुनेछन्।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष हुनेछन्।
यस्तै, पस्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, ह्यान्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा हुने अध्यक्ष कपिल अधिकारीले बताए।
‘नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्याउने उद्देश्य हाम्रो ह,’ अधिकारीले भने, ‘प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने अपेक्षा गरिएको छ। एक्सपोमा सय भन्दा बढी स्टलहरु रहनेछन्।
नेपाल हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ। नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पुर्याउने उद्देश्यले अमेरिकाका विभिन्न राज्यमा एक्स्पो सम्पन्न भइसकेको छ।
यस्तै एक्सपो अमेरिकाको लस भेगास र लस एन्जलसमा पनि हुँदैछ। जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लस भेगसमा र अप्रिल ४-६ मा लस एन्जलसमा हुने आयोजकले जानकारी दिएको छ। यस्तै क्यानडा, बेलायतलगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको छ।
बीटुबी मोडलमा हुने एक्स्पोमा विश्वका विभिन्न मुलुकबाट क्रेताहरू पनि व्यापार कक्षमा आउने गरेका एक्स्पो संयोजक सोमत अधिकारीले बताए।


