धादिङ- धादिङ जिल्लाको गजुरी गाउँपालिका-२ मलेखुको माछाबजार नजिकै परेवा भीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ।
रातको समयमा पहिरो खसेकाले सडक खुलाउन समस्या हुँदा दुवै तर्फ सवारी आवागमन ठप्प भएको छ ।
पहिरो ठुलो भएकोले खुलाउन समय लाग्ने इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिए।
तीन दिनसम्म झ्याप्लेखोला पहिरोले ठप्प भएको राजमार्ग सोमबार मात्र खुलाइएको थियो। शनिबार बिहानै त्यहाँ पहिरो गएको थियो।
तर त्यहाँको पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामान नै परेवाभिरमा पहिरो खसेको हो।
झ्याप्ले खोलामा पहिरोले तीन वटा गाडी पुर्दा ३५ जनाको मृत्यु भएको थियो।
पृथ्वी राजमार्ग काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सबैभन्दा ठूलो स्थलमार्ग/नाका हो।
सडक खुलाउनका लागि प्रयास गरिएको भए पनि रातको समय भएकाले समस्या भएको पाण्डेको भनाइ छ।


