काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले लिएको ७० औँ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५.९ प्रतिशत पास भएका छन्।
काउन्सिलले प्रकाशित गरेको नतिजाअनुसार मेडिकल तर्फ ५१.४ र डेन्टल तर्फ ७२.९७ प्रतिशत उत्तीर्ण भएका छन्।
काउन्सिलका रजिस्ट्रार डा सतीशकुमार देवका अनुसार मेडिकलतर्फ १ हजार १६८ जनाले परीक्षाका लागि फारम भरे पनि ३९ जनाले परीक्षा दिएनन्। तीन जनाको नतिजा ‘विथहेल्ड’ छ।
त्यसैगरी, डेन्टलतर्फ ३०६ जना जनाले परीक्षाका लागि फारम भरेका थिए। १० जना परीक्षामा उपस्थित भएनन्।
यसपटक परीक्षा हुनु अघि देशभर आएको बाढीपहिरोका कारण परीक्षार्थीलाई अफ्टेरो पर्न सक्ने भन्दै काउन्सिलले हिजो १५ असोजमा दिउँसोको सिफ्ट र आज बिहानको सिफ्ट छुटेका परीक्षार्थीका लागि सहभागी हुन मौका दिएको थियो।
कुल १ हजार १२९ जना सहभागी भएकोमा ५७९ जना पास भएका छन्।
परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा १३ असाेजदेखि सञ्चालन भएको थियो।


