गोरखा– खोलाले बगाएर ज्यान गुमाएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई शुक्रबार राहत रकम प्रदान गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई रु दुई लाख ५० हजार राहत रकम घरमा पुगेर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले मृतकको परिवारलाई राहत रकम उपलब्ध गराए। सङ्घीय सरकारबाट प्राप्त रु दुई लाख र प्रदेश सरकारबाट रु ५० हजार राहत रकम मृतककी छोरीलाई हस्तान्तरण गरिएको प्रजिअ दाहालले जानकारी दिए।
यही असोज १२ गते बुङकोट स्वास्थ्यचौकीमा उपचार गरेर घर फर्कने क्रममा गाउँपालिका–६ र ७ को सिमानामा पर्ने सुकौरा खोलाले बगाएर श्रेष्ठको मृत्यु भएको थियो।


