काठमाडौँ- बाढीपहिरोका कारण लामो समय जाममा गाडी फस्दा भारतबाट ल्याइएका आलु कुहिएका छन्।
असोज १० र ११ गते परेको अविरल वर्षापछि बाढी-पहिरोले विभिन्न राजमार्गहरू अवरूद्ध बनेपछि आलु गाडीमा नै कुहिएका हुन्।
ढिलो गरी आलु काठमाडौँको कालिमाटी तरकारी बजारमा ल्याइपुर्याइए पनि ती प्रयोगयोग्य छैनन्। तरकारी व्यवसायीहरूले आलुलाई घाममा सुकाएर सद्दे आलु छान्न थालेका हुन्।
यसरी ल्याइएका आलु कुहिएपछि लाखौंको घाटा भएको व्यापारीहरूको गुनासो छ। अधिकांश आलु फ्याँक्नुपर्ने भएको तर सरकारले कुनै राहत नदिएको उनीहरूको गुनासो छ।
भारतको गुजरात, पञ्जाबलगायतका स्थानबाट नेपालमा आलु आयात हुने र आलु १ बोरा किन्दा प्रतिकेजी ५७/५८ रुपैयाँ पर्ने गर्छ।
तर अहिले बाटोका कारण धेरै आलु कुहिएको र घाटा सन्तुलन गर्न केही महँगो भएको व्यापारी सन्तोष अवस्थीले बताए। उनले आफ्नै ३ लाख रुपैयाँ क्षती भएको र अन्य व्यापारीहरूको थप क्षति भएको बताए।













