काठमाडौँ- पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पनि पुरिन बाँकी रहेको बताएका छन्।
हमास आक्रमणको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा पूर्वमन्त्री साउदले यस्तो बताएका हुन्।
इजरायलमाथि हमासको आक्रमणमा परी अध्ययन र आर्जन सँगसँगै कार्यक्रम अन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका विपीन जोशी अझै पनि बेपत्ता रहेको प्रसंग उल्लेख गर्दै साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको उल्लेख गरेका हुन्।
२०८० असोज २१ गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। जोशीलाई भने हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको भएपनि अझसम्म पनि उनलाई फर्काउन सकिएको छैन।
आक्रमणमा १ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। आक्रमणमा परी थुप्रै घाइते र अपाङ्ग भएका थिए। आक्रमणको समयमा इजरायलमा अध्ययन र कमाईको कार्यक्रम अन्तर्गत पढ्न गएका १० नेपाली विद्यार्थीको मृत्युले नेपालले आफ्नो भविष्यका सम्भावनाहरू गुमाएको छ भने ती परिवारहरूले आफ्ना प्रिय सदस्यहरू गुमाएका छन्।
नेपाल सरकारले हमास आक्रमणको कडा शब्दमा भर्त्सना गरेको थियो। त्यसबेला साउद नै परराष्ट्रमन्त्री थिए। साउद त्यसबेला इजरायल पुगेर नेपालीहरूलाई उद्धार गरी ल्याएका थिए।
‘यो भयावह घटनाको सामना गर्दै त्यतिबेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नु परेको थियो। इजरायल सरकारको सहयोगमा नेपाली नागरिकहरूको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,’ उनले भने, ‘घाइते विद्यार्थीहरूको इजरायलमै उपचार भएको थियो।’
यता जोशीको सकुशल उद्धारका लागि नेपाल सरकारले अनुरोध गरेको छ।
हालै भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन आग्रह गरेकी थिइन्।
असंलग्न राष्ट्रहरूको संगठन नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन्।
नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको उनले आग्रह गरेकी हुन्। उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए।


