खुर्कोट- ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले बाढीले बगाएको खुर्कोट पुल सञ्चालनमा आएपछि मात्र राजधानी (काठमाडौँ) फर्कने बताएका छन्।
शुक्रबार खुर्कोटमा स्थानीय पत्रकारसँग कुराकानी गर्दै राज्यमन्त्री तामाङले खुर्काेटकाे पुल सञ्चालनमा आएपछि मात्र राजधानी फर्किने बताएका हुन्।
‘पुल निर्माणकाे काम पूरा गरेर यातायात सञ्चालनमा आउन अझै केही दिन लाग्ने देखिएको छ। तर यो पुलमा गाडी कुद्न थालेपछि मात्र म राजधानी फर्कन्छु। चाहे जतिसुकै दिन लागोस्, पुलबाट नकुदेसम्म म यहीँ खटिनेछु,’ राज्यमन्त्री तामाङले भने।
रामेछाप र सिन्धुली जाेड्ने रामेछापको लाइफलाइनकाे रुपमा रहेकाे खुर्काेटकाे पुल गत असाेज १२ गते आएकाे बाढीले बगाएकाे थियाे। पुल बगाएपछि रामेछाप जिल्लाबाट राजधानी जाने बाटाे अवरुद्ध छ।
राज्यमन्त्री तामाङकाे सक्रियतामा बेलिब्रिज निर्माणको काम सरकारले नेपाली सेनालाई दिएकाे छ। हाल उक्त पुल काम निर्माणको काम अन्तिम चरणमा पुर्याइएकाे सेनाले जानकारी दिएको छ।
पुलका लागि आवश्यक सामग्री जुटाउनदेखि निर्माण कार्यलाई तीव्र बनाउन राज्यमन्त्री तामाङ आफैँ निर्माणस्थलमा खटिएका छन्।


