पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका नेताकार्यकर्ताहरूले पोखरामा प्रदर्शन गरेका छन्।
शनिबार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन्।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरू होसियार’लगायतका प्लेकार्ड र नारा लगाई विरोध गरेका थिए।
रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएको थियो।
सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ।


