पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ। प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौँबाट पक्राउ गरेर शनिबार बिहान पौन ३ बजे पोखरा ल्याएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ। त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो ।
यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा छन्।
रविलाई पक्राउ गरेर पोखरा लगिएपछि भने सहकारी पीडित र रास्वपा समर्थक आमने–सामने हुने सम्भावना बढेको छ। त्यसकारण सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।
रास्वपाका नेताहरु भने पोखरामै आएर दर्शन तथा दबाव कार्यक्रम गरिरहेका छन्।


