पोखरा- सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा पक्राउ परेका रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ।
हिरासतमा राखेर अनुसन्धान गर्नलाई प्रहरीले म्याद थप्न अदालत पेश गर्न लागेको हो।
अदालतमा रविको तर्फका वकिल र पीडिततर्फको वकिलले बहस गरेपछि म्याद थप हुने नहुने इजालसले तय गर्नेछ।
शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुर्वगृहमन्त्री लामिछानेलाई शनिबार बिहान कास्की ल्याइएको थियो। आइतबार जिल्ला अदालत पेश गरेकोमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमती पाएको थियो।
जिल्ला सरकारी वकिलको रोहबरमा रविको बयान लिने कामसमेत भैरहेको छ। रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालय उपस्थित गराइँदैछ।
यसैबीच आज राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र सहकारीका पीडित दुवै पक्षले आज विरोध प्रदर्शन गर्ने भएका छन्।
रवि समर्थकले वाइचोक र सहकारी पीडितले मुस्ताङचोकमा विरोध प्रदर्शन गर्न लागेका हुन्। दुवै पक्षले आन्दोलनमा सहभागी बन्न आह्वानसमेत गरेका छन्।


