काठमाडौँ- काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन्।
कात्तिक १६ गते अपरान्ह चार बजेको समयमा रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँकी ६९ वर्षीया माईली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन्।
लोहोरो प्रहार गरी आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
प्रहरी उपरीक्षक खड्काले माइली लामा आफ्नै घरको भान्सा कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा भेटिएकी थिइन्।
खड्काका अनुसार घटनाको अनुसन्धान गर्दा फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्न प्रयोग हुने लोहोरो (ढुंगा)ले टाउकोमा प्रहार गरेका थिए। पछि उनले ढोका बन्द गर्न प्रयोग हुने आग्लोले समेत प्रहार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।
फुर्साङले आमाको हत्या गरी आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट भागेका थिए। फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयल काभ्रेले कात्तिक १८ गते पक्राउ गरेको थियो।
पक्राउ परेका फुर्साङलाई मंगलबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।


