काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने बताएका छन्।सभापति लामिछाने पक्राउको विरोधका लागि आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन्।
‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो। यसमा कसले कार्यवाहक सभापति पाउँछ या कसले पाउँदैन गौण हो,’ अर्यालले भने।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परे पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन। फौजदारी कसुरमा सभापति लामिछानेमाथि अनुसन्धान भइरहँदा पनि कार्यवाहक नतोकिएको भन्दै आलोचना भइरहेका बेला उपसभापति प्रखर रूपमा लामिछानेको पक्षमा खडा भएका हुन्।
रास्वपामा डिपी र स्वर्णिम वाग्ले उपसभापति छन्। पार्टी सभापतिले तोकेका वा ज्येष्ठ उपसभापतिमध्येबाट कार्यवाहक तोक्ने विधानमा व्यवस्था छ। उपसभापति अर्यालले नै यतिबेला बैठकहरूका अध्यक्षता निर्वाह गर्दै आएका छन्।
‘उहाँको सभापति पद निरन्तर रहन्छ। उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो। उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ,’ अर्यालले भने, ‘संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन्। त्यतिमात्र होइन जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास छ। हामी विचलित हुनु हुँदैन।’
उनले प्रदर्शनकारीको संख्या सानो भए पनि त्यसले दिने सन्देश ठूलो हुने बताए।
शनिबार बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणको सशक्त आन्दोलन घोषणा गरेको र त्यसको मोडालिटी तय भइरहेको उनले बताए।
आन्दोलनको स्वरूप परिवर्तन हुने र सहकारी बचतकर्ताहरू निक्षेप फिर्ता लगायतका विषमा मुद्दा मिल्ने दलहरूसँग छलफल गरेर अघि बढ्ने उनले बताए।


