काठमाडौं– सहकारी ठगीबाट जोगिन श्रीमतीसँग कृत्रिम पारपाचुके गरेको भन्दै सार्वजनिक आलोचना खेपिरहेका कांग्रेस उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिखित बयान लिएको छ।
नेपाली कांग्रेसका उपसभापति गुरूङसँग बयान लिइएको तर उनले आफ्नो बयान सहकारी रकम दुरुपयोगमा आफ्नो संलग्नता अस्विकार गरेको पुष्टि सिआइबीले गरेको छ।
सिआइबीले बुधबार गुरूङसँग पाँच घन्टा बयान लिएको हो। ‘आज मध्याह्न १२ बजेदेखि अपराह्न ५ बजेसम्म उहाँ सँग बयान लियौं,’ सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले भने, ‘उहाँसँग बयान सकियो।’
गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ। संसदीय छानबिन समितिले समेत यसबारे थप अनुसन्धान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको थियो। ज्यातिलाई पक्राउ गर्न प्रहरीले रेड कर्नर नोटिस जारी गरे पनि काँग्रेस उपसभापति धनराजबारे अनुसन्धान उदासिन रहेको भन्दै विरोधीहरुले यसबारे आलोचना गरिरहेका थिए।
बुधबार धनराजले प्रहरीसँगको बयानमा आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्। ‘यसमा मेरो कुनै संलग्नता छैन। पूर्वश्रीमती ज्यातिले गरेको कारोवार हो। यो सबै उनका नाममा छ। हामी अलग अलग बस्न थालेको पहिल्यैदेखि हो’ बयानमा उपसभापति गुरुङले भनेका छन्, ‘सत्य कुरा यही हो। प्रहरीले यसलाई जसरी अनुसन्धान गरे पनि हुन्छ। म अनुसन्धानलाई सघाउन तयार छु।’
गुरूङमाथि अनुसन्धान गर्न कांग्रेसकै केही नेताहरू, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले सरकारलाई आग्रह गर्दै आएका थिए। गुरूङले पनि प्रतिनिधि सभामा बोल्दै मितेरी सहकारीबारे आफूमाथि अनुसन्धान गर्न माग गरेका थिए।


