कुश्माः पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन्।
छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ।
म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायतका जिल्ला अवलोकन गर्न सकिन्छ।
लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय लेखबहादुर गुरूङले कोखेडाँडामा कटेज स्थापना गरेका छन्। उनले यहाँ आउने पर्यटकको सुविधाका लागि नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरूको अभाव रहेको बताए। उनको कटेजमा नेपालीहरूलाई एक रात बास बसेको एक हजार पाँच सय निर्धारण गरेका छन्।
कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत् १० लाख विनियोजन भएको छ। यस वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरूङले बताए।
कोखेडाँडा जाने पर्यटक मोदी गाउँपालिका वडा नं १ लप्सीबोट र भुकदेउराली र ताङ्लेमा रहेको घरबास (होमस्टे)मा पनि बास बस्न सक्नछन्। त्यस्तै मोदी गाउँपालिका वडा नं ४ लेसपारमा पनि होमस्टे सुविधा विस्तार गरिएको छ।


