काठमाडौँ – नेपाल भू-प्राविधिक समाज (नेपाल जियोटेक्निकल सोसाइटी) ले अन्तर्राष्ट्रिय ‘जियोमान्डु’ शृंखलाको दोस्रो संस्करण ‘जियोमान्डु-२०२४’ गर्ने भएको छ।
कार्यक्रम नोभेम्बर २८ र २९, २०२४ मा काठमाडौँमा ‘दिगो पूर्वाधारका लागि भू-प्रविधि’ शीर्षकको विषयवस्तुका साथ आयोजना हुने भएको छ।
कार्यक्रममा विभिन्न देशका भू-प्राविधिक, इन्जिनियर र अनुसन्धानकर्ताको सहभागी हुनेछन्। कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्।
‘आजको समयमा नेपालले धेरै विकास गरिरहेको छ। सडक, जलविद्युत, सिंचाई र नयाँ सहर बनाउने काममा ठूलो प्रगति भएको छ। तर यी विकास कार्यहरू गर्दा हामीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको पनि ध्यान दिनुपर्छ। यसका लागि भू-प्राविधिक इन्जिनियरिङको भूमिका धेरै महत्वपूर्ण छ। प्राकृतिक प्रकोप र जलवायु सम्बन्धी चुनौतीहरूको सामना गर्न पूर्वाधार विकास सुनिश्चित गर्न यो सम्मेलन महत्वपूर्ण छ,’ नेपाल भू-प्राविधिक समाजका अध्यक्ष डा. मन्दीप सुबेदीले बताए, ‘यो सम्मेलनमा संसारभरका विज्ञहरूले आफ्ना अनुभव र ज्ञान बाँड्नेछन्। नयाँ खोज र अनुसन्धानका बारेमा छलफल हुनेछ। सबै मिलेर कसरी राम्रो र दिगो पूर्वाधार बनाउन सकिन्छ भन्ने विषयमा विचार विमर्श गर्नेछौँ।’
यो सम्मेलनले अनुसन्धानकर्ताहरू, इन्जिनियरहरू र व्यवसायीका लागि ज्ञान आदान-प्रदान गर्न, अनुसन्धान निष्कर्षहरू प्रसार गर्न र पूर्वाधार विकासको अर्को चरणलाई परिभाषित गर्ने समाधानहरूमा सहकार्य गर्न एक गतिशील मञ्चको रूपमा काम गर्ने आयोजकहरुको भनाई छ।
‘जियोमान्डु’ सम्मेलन श्रृंखलाले विश्वव्यापी स्तरमा दिगो पूर्वाधार विकासमा केन्द्रित रहँदै भू-प्राविधिक इन्जिनियरिङ समुदायभित्र ज्ञान आदान-प्रदान, सहकार्य र दिगो समाधानहरूको प्रवर्धन गर्ने लक्ष्य राखेको छ। पहिलो जियोमान्डु २०७९ को चैतमा सम्पन्न भएको थियो।


