काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मस्कसँग कुराकानी भएको जानकारी दिएका हुन् ।
मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवासम्बन्धी काम गर्न इच्छा देखाइरहेका छन्।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन्।
ओलीले खर्बपति एलन मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उनको सचिवालयले बताएको छ।
मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए। उनले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएका थिए । मस्कलाई ओलीले कुनै औपचारिक प्रतिक्रिया नदिए पनि ध्यान दिएर सुनेको उनको सचिवालयको भनाइ छ।
स्पेश एक्सका कम्पनीका मालिक मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाएका छन्। नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्न सक्ने भन्दै स्पेश एक्सका प्रतिनिधिले वातावरण बनाउन पहल गर्दै आएका छन्।


