विराटनगर- मंसिर १५ बाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विराटनगर किङ्सले जितेमा पुरस्कारमा ३० लाख रुपैयाँ थपिदिने घोषणा कोशी प्रदेशका मुख्यमन्त्रीले गरेका छन्।
विराटनगर किङ्सका खेलाडीलाई मंगलबार राति बिदाई गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन्।
बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने बताए।
‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ,’ उनले भने, ‘आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ।’
विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा सक्दो राम्रो प्रस्तुति दिने बताए। प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुस ६ गतेसम्म हुनेछ।


