चितवन- देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा लगानी बढिरहेको छ। कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै व्यवसायी आकर्षित भएका हुन्।
झन्डै ३ वर्ष लगाएर रत्ननगर नगरपालिका-५ जनकौली सामुदायिव वन कार्यालय अगाडि रिसोर्ट अवस्थित छ। केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण भएको यो रिसोर्ट लुभ्र होटल्स ग्रुपको सहकार्यमा सञ्चालनमा आउन लागेको हो। होटलमा १ अर्ब ५० करोडभन्दा बढी लगानी भएको हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले जानकारी दिए।
पर्यटकलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले जिल्लामै पहिलो पटक पाँचतारे रिसोर्ट खोलिएको शाहले बताए। उनका अनुसार यो रिसोर्ट सन् २०२५ को जनवरी (अंग्रेजी नयाँ वर्ष)बाट सञ्चालनमा आउने छ।
विश्व बजारमा सफलता हासिल गरिरहेको बहुर्राष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्स अन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ प्रवर्द्धन गर्न सहयोग गर्ने उनले बताए। ‘चितवन राष्ट्रिय निकुञ्जका होटल बन्द भएपछि पर्यटक लक्षित स्टार होटल सञ्चालनमा आएका थिए,’ उनले भने, ‘पर्यटकहरुको माग र चितवनको विकासमा टेवा पुर्याउने उद्देश्यले पाँचतारे होटल निर्माण सम्पन्न गरी भएको छ। जनवरीदेखि सञ्चालनमा आउँछ।’

चितवनमा एउटै पनि पाँच तारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल चल्ने र खुल्ने गरेकोले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी गरेको गैरआवासीय नेपाली गतिविधिमा सक्रिय सहभागिता जनाउने शाहको भनाइ छ। ‘हामीले निर्माण गरिरहेको पाँचतारेस्तरको रिसोर्ट हो। चितवनमा लोकल ब्रान्डका होटलहरु मात्र रहेकोमा रोयल टुलिप पहिलो विदेशी ब्रान्डको रिसोर्ट हो,’ उनले भने।
रिसोर्ट निर्माणमा सुरुमा ७० करोड लागत अनुमान गरिएकोमा बढेर अहिले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुगेको शाहले उल्लेख गरे। ‘हामीले पर्यटकलाई विशेष सुविधा दिने लक्ष्यसहित रिसोर्टमा सुविधाहरुको व्यवस्था गरेका छौं। विभिन्न कारणले गर्दा अनुमानित लागत पनि बढेको छ,’ उनले थपे, ‘कोभिड महामारीको असर र बनाउँदै जाँदा सुविधाहरू पनि थप गर्दै लगिएकाले लागत बढेको हो।’
हेरिटेज, बुटिक शैलीमा निर्माण गरिएको होटलमा जिल्लाकै ठूला सभा हल, पाँच सय क्षमताको बैंक्यूट हल, सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, आगन्तुक पाहुनाहरुले डुंगा सयर, जलमहलको बास, स्पासहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थियटर, लङ टेनिस कोर्ट, पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार र रेष्टुरेण्ट जस्ता सेवाहरु पाउने छन्।
प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेष्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ भने रिसोर्टमा हेल्थ क्लब, चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेको छ। कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने सञ्चालक शाहको भनाइ छ। होटलभित्रका सबै संरचनाहरुमा प्रकृतीमैत्री छ। होटलमा तीन सय जना बढीलाई रोजगारी दिने ग्रुपको तयारी छ।
अध्यक्ष शाहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भईरहँदा भएकोले कोरोना कहरले अकल्पनीय रुपमा थला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालन हुन लागेको बताए।

ग्रुपकै दोश्रो ठुलो तथा विश्व बजारमा ११ वटा विभिन्न ब्राण्ड सहित उपस्थित रहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड ‘रोयल टुलिप’ ले कोभिड महाव्याधिका बिच शिलान्यास भई निर्माण सुरु भएको थियो।
करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुईट्लगायत ५ प्रकारका विविध सुविधा सहितका कोठाहरु रहने रिसोर्ट नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरुको प्रयोग गरी निर्माण भएको उनले बताए।
रिसोर्टमा १३ वटा एक तल्ले, पाँच वटा दुई तल्ले, तीन वटा तीन तल्ले र एउटा चार तल्ले गरी २२ वटा भिल्ला छन्। यी भिल्लामा स्विट लगायत विविध सुविधा सहितका ६४ कोठा छन्। रोयल टुलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एण्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि भर्ना खोलिएको सञ्चालक शाहले बताएका छन्।
सञ्चालक शाहका अनुसार रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भए पनि आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरू सकेसम्म स्थानीय र नभए नेपाली नै राखेर सञ्चालन गर्ने योजना छ। जसले व्यवसाय सञ्चालन भएको स्थानमा रहेका स्थानीयहरूलाई रोजगारी सिर्जना हुने उनले बताए।
सन् २०२० को जनवरीमा स्थापित केटीएम हस्पिटालिटी प्रालिद्वारा निर्माण भएको केटिएम ग्रुपपको पहिलो रिसोर्ट हो। रिसोर्टभित्र १ फन्को लगाउँदा १ किलोमिटरको ट्रेल हुन्छ।



