काठमाडौँ- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्टले जितेको छ।
जनकपुरले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो।
विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
जनकपुरको जितमा लाहिरू मिलन्थाले अर्धशतक प्रहार गरे। उनले नटआउट ७५ रन जोड्ने क्रममा ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। हर्ष थाकरले नटआउट २९ रन जोडे। उनले ३३ बलमा २ चौका हिर्काए।
जनकपुरका ओपनरद्वय अनिल साह र आसिफ शेख भने चल्न सकेनन्। आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा शून्यमा बोल्ड गरे। दोस्रो ओभरको अन्तिम बलमा अनिललाई विराटनगरका प्रतिश जिसीले पनि ५ रनमा बोल्ड गरेका थिए।
त्यसपछि जनकपुरका लाहिरू मिलन्था र हर्ष थाकरबीच तेस्रो विकेटका लागि नटआउट ११६ रनको साझेदारी भयो। मिलन्था अमेरिकामा क्रिकेट खेल्ने श्रीलंकन मूलका खेलाडी हुन्। थाकर क्यानडाका अलराउन्डर हुन्।
उद्घाटन खेलमा विराटनगरले मार्टिन गप्टिलको अर्धशतकका बाबझुध कमोजर ब्याटिङ गर्यो।
टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भएको थियो।


