काठमाडौ– प्रधामन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा बालुवाटारमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच छलफल भएको छ।
प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुई दलको संयन्त्रमा रहेका नेताहरूबीच छलफलमा चीन भ्रमणलाई सफल र परिणाममुखी बनाउन गरिने कुटनीतिक प्रयत्नहरुका विषयमा कुराकानी भएको उपस्थित नेताहरुले बताएका छन्।
‘भ्रमणका विषयमा नै हो छलफल भएको। सरकारको रणनीति, चीनसँगको सम्बन्ध र भ्रमणलाई कसरी बढि फलदायी बनाउन सकिन्छ भन्नेबारे शीर्ष नेताहरुसहित छलफल भयो’ बैठकमा सहभागी एक नेताले नेपाल क्लिक्ससँग भने– ‘भ्रमणमा नेपाल र नेपाली जनतालाई भार पर्नेगरी कुनै सहमति र सम्झौता हुने छैन भन्नेमा नेताहरुमा प्रतिवद्धता देखियो।’
शनिबार दिउँसो दुई घन्टा भएको बैठकमा बिआरआईबारे बैठकमा दुई संयन्त्रले गरेको काम र यसको भूमिकाबारे कांग्रेस महामन्त्री गगन थापाले ब्रिफिङ गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। त्यसअघि सत्तासाझेदार दुई दलबीच बिआरआईबारे छलफल भएको हो।
चीन भ्रमणबाट फर्केकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले सहमतिमै बिआरआई अघि बढ्ने बताएकी थिइन्। उनले सरकार गठबन्धनका दलहरुका बीच बीआरआइको विषयमा कुराकानी पनि मिलिसकेको संकेत गरेकी थिइन्।


