रोल्पा- रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ४ जनाको मृत्यु भएको छ। घटनामा परी एक जना बेपत्ता छन् भने दुई जना भाग्न सफल भएको रोल्पा प्रहरीले जानकारी दिएको छ।
बिहान १०ः२० बजे मानिस पुरिएको खबर प्रहरीले पाएको थियो।
प्रहरीले मृत्यु भएका चार जनालाई बाहिर निकालेको र पुरिएका भनिएका अर्का एक जनाको खोजी भइरहेको जनाएको छ। ६६ वर्षीय देवीराम परियारको बेपत्ता छन्।
मृत्यु हुनेमा सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार छन्। यस्तै २७ वर्षीया आइती परियारको पनि मृत्यु भएको छ।
माटोले पुरिएको अवस्थामा २ पुरुष र २ महिला गरी ४ जनाको शव निकालिएको छ।
मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलका लागि एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले जिम्मा लिएको थियो।


