काठमाडौँ- प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा बहस भएको छ। प्रकरणमा संलग्नहरू जो कोही भएपनि पक्राउ गरी कारबाही गर्न सांसदहरूको माग छ।
बैठकमा बोल्ने अधिकांश सांसदले उच्च राजनीतिक व्यक्तिकै संलग्नतामा संगठित अपराधका घटना भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्। सांसद रघुजी पन्तले प्रेस डिप्लोमेसीको कुरा उठाए भने दीपकबहादुर सिंहले पीएचडी होल्डरको पेटेन्टका विषय उठाएका थिए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन ढिलाइ गरेको भनी प्रश्न गरेका थिए।
‘नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ?’ सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले सभामुख देवराज घिमिरेलाई पनि आग्रह गरे।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढिरहेको बेलामा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताले आशंका पैदा गरेको बताएका छन्। तारन्तार तीन नेता मात्र भेट्नुपर्ने कारण नभएको उल्लेख गर्दै झाले ती नेताको भेटप्रति प्रश्न उठाए।

मनिष झा।
‘तीन दलका नेताहरु पटक पटक भेटिरहेको समाचार हामी सुन्छौं। देशमा केही आपत्त परेको बेला जस्तैः बाढी, पहिरो, भूकम्पलगायत आपत्त परेको बेलामा नेताहरु यसरी तारनतार भेटिरहेको समाचार सुन्दैनथ्यौं। तर, अहिले किन सुनिन्छ ? त्यसमा उहाँहरुको आकर्षण किन देखिन्छ? सम्भावित व्यक्तिहरु भाग्न पनि नपाऊन्। यसको आशंकामा भएका नामकरणको विषयमा सेटलमेन्टमा आएका विषयहरु पनि बाहिर नआओस्।’ उनले यो प्रकरणमा जोडिएकाहरुलाई प्याकेजमै बाहिर ल्याएर सबै शंकास्पदमाथि छानबिन गर्न माग गरे।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरे। ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ। सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ,’ सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर उनले भने, ‘यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो।’ नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई उनको आग्रह छ।

माधव सापकोटा।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा संसदबाट खेद प्रस्ताव पारित गर्न प्रस्ताव राखेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो प्रकरणले नेपाली राजनीतिकलाई लज्जित बनाएको समेत बताए।
‘नेपाल राष्ट्रको लागि सम्माननीय सभामुख मार्फत नेपाल सरकारलाई यो घटनाप्रति लज्जावोध गरेर खेद प्रस्ताव पारित गर्न अनुरोध गर्न चाहन्छु,’ प्रमुख सचेतक परियारले प्रस्ताव राखे। रास्वपाले नेपालमा भ्रष्टाचार ब्याप्त रहेको उठाउँदै आएको र रास्वपाले विगतमा उठाएको विषयलाई नक्कली भुटानी प्रकरणले पुष्टि गरेको उनको भनाइ छ।
जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको उल्लेख गरे। आकस्मिक समयमा उनले सो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताएका हुन्।
‘अहिले सर्वाधिक चर्चाको विषय रहेको नक्कली भुटानी शरणार्थी प्रकरण छ। यसलाई सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ। त्यसैले यो सामान्य भ्रष्टाचार होइन। यो देशद्रोह हो,’ उनले भनेका छन्, ‘राजनीतिक वृत्तमा एउटा अविश्वासको वातावरण सृजना गरेको छ। र, यसलाई त्यही रूपमा लिई यो राष्ट्रद्रोह हो। त्यही रूपमा लिई यसलाई दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि सरोकारवाला पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।’ उनले सो प्रकरणलाई निस्तेज पार्न ठुला दलका नेताहरू सक्रिय भइरहेको आशङ्का पनि व्यक्त गरे।
आरजुको आफ्नै गुनासो
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको जिकिर गरेकी हुन्।
अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताइन्।

‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो।’
महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताइन्। ‘महिलालाई राजनीतिमा आउँदा सबै कुरा व्यहोर्न सक्नुपर्छ। म व्यहोरिरहेको छु। यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्,’ उनले भनिन्।
उता नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आरोपीहरु छुट्ने खतरा बढाएको बताएका छन्।
‘एकजना पूर्वप्रधानमन्त्रीले प्रहरी अधिकृतहरुलाई दिनमा ५ पटक फोन गरेर आफ्नो पत्नीको नाम कुनै पनि अवस्थामा नलिन दबाब दिइरहनुभएको सत्य हो कि होइन? अर्का पूर्व प्रधानमन्त्रीका स्वकीय सचिव यो प्रकरणमा जोडिएको सत्य हो कि हैन? उनीहरुको बारे यथार्थ बाहिर ल्याउन जरुरी छ। यसले भ्रष्टाचार रोक्नका लागि सहयोग गर्दछ,’ उनले भने।
र प्रेसर डिप्लोमेसी
एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन्। दवाबमूलक कूटनीतिमा नेपाल पर्न नुहुनेमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
‘हाम्रो प्रधानमन्त्री भारत जान्छु भन्नुहुन्छ। भारत भ्रमण सरेको सर्यै छ। फेरि कहिले हुने हो थाहा छैन। तर नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पखाइराख्दाखेरि पूर्व राजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ’, पन्तले भने। उनले पूर्वराजालाई स्वागत गर्ने क्रममा भारतका मुख्मन्त्रीहरुले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको भन्दै प्रेसर डिप्लोमेसी त्यही भएको बताए।

‘प्रेसर डिप्लोमेसी। यो विश्व कूटनीतिमा चलनचल्तीमा रहेको छ। के मेरो एजेण्डा गर्छौ ? तिमिले बोकेर आउने एजेण्डामा त्यो विषय कार्यसूचीमा पर्छ कि पर्दैन ? अनिमात्र भारतमा तिमीलाई स्वागत गर्छु भनेर त्यसको सट्टा दबाब दिन राजालाई भारत बोलाइयो।’
शिक्षाका कुरा
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका जनशक्तिलाई स्वदेशमै रोक्नुपर्ने बताएका छन्।
सांसद सिंहले देशमा ९ वटा विश्वविद्यालय भए पनि ६ वर्षमा एउटा पनि पेटेन्ट फाइल दर्ता गर्न नसकेको बताए। विश्वविद्यालयबाट अहिलेसम्म पिएचडी उत्तीर्ण गर्ने ५ हजार जना भएपनि पेटेन्ट दर्ता गर्नेमा चीन १५ लाख, अमेरिका ५ लाख, जापान २ लाख, भारत ३० हजार र नेपाल जम्मा ७० ओटा मात्र भएको भन्दै संसदको ध्यानाकर्षण गराएको छ।
‘नेपाले गएको ६ वर्षदेखि हालसम्म एउटा पनि पेटेन्ट अधिकार दर्ता गरेको छैन। हाम्रो देशको ब्रेन ड्रेन भएर विदेश गइरहेको छ। त्यो ब्रेन नेपाल नै बनाउनका लागि रोक्नुपर्ने बेला आएको छ,’ उनले थपे, ‘अहिलेको बजेटमा शिक्षा क्षेत्रमा बजेट ७० अरब रुपैयाँको बजेट छ। त्यो अनुभवी ब्रेनलाई यो देश बनाउन किन नराख्ने?’ उनले ५ हजार पिएचडी होल्डरलाई नेपालमै रोक्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।


